पर्वत – राष्ट्रपति विद्यादेवी भण्डारीले धार्मिक तथा पर्यावरणीय पर्यटनको माध्यमबाट ग्रामिण अर्थतन्त्रको विकासमा सहयोग पुग्ने बताएकी छन् । आज बुधवार पर्वतको जलजला गाउँपालिका २ पूर्ण गाउँमा रहेकाे आदिबराह मन्दिरको उद्घाटनका क्रममा राष्ट्रपति भण्डारीले धार्मिक तथा सांस्कृतिक स्थलहरूकाे संरक्षण, संवर्धन गराउन सकेमा पर्यापर्यटनको माध्यमबाट स्थानीयस्तरमा मात्रै नभई समग्र देशको समृद्धिमा टेवा पुग्ने बताउनुभएको हो ।
पर्वतका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रहरू नेपालका उत्कृष्ट एक सय पर्यटकीय गन्तव्यकाे सूचीमा समावेश भएको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले ती क्षेत्रहरूको प्रवर्धनका लागि स्थानीयस्तरबाट मात्रै नभई सम्बन्धित निकायको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
मन्दिरको उद्घाटनपछि राष्ट्रपति भण्डारीले कालाञ्जार क्षेत्रका रूपमा चिनिने पर्वतको तीन हजार तीन सय मिटर उचाइमा रहेको हम्पाल क्षेत्रको समेत अवलोकन गर्नुभएको थियो । अवलोकनसँगै उहाँले प्राकृतिक सम्पदालाई संरक्षण सँगै दिगो उपयोग गर्दै आर्थिक उपार्जनमा जोड्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले राष्ट्रपतिमार्फत भएको पर्यटकीय सम्भावनायुक्त क्षेत्र बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको भ्रमणले यस क्षेत्रको प्रचारप्रसारमा ठूलो टेवा पुग्नुका साथै देश तथा विदेशमा परिचित गराउने र आउँदा दिनमा महत्त्व बढेर जाने अपेक्षा गरिएको बताउनुभयो ।
त्यस्तै नेपाल सरकारका मुख्य सचिव शंकरदास बैरागीले पर्वतको समृद्धिका लागि कालाञ्जार क्षेत्रको विकास अपरिहार्य रहेको बताउनुभयो । उहाँले कालाञ्जार क्षेत्रमा पूर्वाधार विकाससँगै पर्यटकीय क्षेत्र बनाउन सके समग्र देशलाई टेवा पुग्ने बताउनुभयो ।
लामिछाने र घर्ती क्षेत्री समुदायले एक करोड ५० लाख रूपैयाँको लागतमा दुईवटा मन्दिर निर्माण भएको आयोजकले जनाएका छन् । मन्दिर पुननिर्माणको मुख्यदाता रविन्द्रजंग लामिछनेले २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको निर्माण समितिका नविन जिसीले जानकारी दिए ।
जलजला गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले राष्ट्रपतिको भ्रमणले पर्यटकीय संभावनायुक्त बराह ताल र हम्पाल कालञ्जर क्षेत्रको प्रचारप्रसार र पहिचान दिलाउन सहयोग पुगेको बताए ।
समुद्री सतहदेखि एक हजार नौ सय ५० मिटरको उचाइमा रहेको बराह ताल तीन रोपनी आठ आना क्षेत्रफलमा फैलिएको छ । तालको पृष्ठभूमिमा धौलागिरि र निलगिरि हिमाल रहेका छन् । बस्तीदेखि टाढा एकान्त वातावरणमा रहेको बराह तालबाट पर्वत, म्याग्दी र बाग्लुङको विभिन्न बस्तीको अवलोकन गर्न सकिन्छ ।








