काठमाडौँ – ग्यास सिलिन्डर विस्फोट भइ आगलागी हुँदा घाइते भएकी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । कीर्तिपुर अस्पतालमा उपचारका क्रममा उनको आज बिहान निधन भएको हो ।
अस्पतालले आज बिहान नेपाल बाहिर लगेर सुविधासम्पन्न अस्पतालमा उपचार गर्न सुझाव दिएको थियो । उक्त सुझाव पछि भारतको मुम्बई लैजाने तयारी भइरहेको थियो ।
गएराति भएको विस्फोटमा उनको ७० प्रतिशत भाग जलेको थियो । उनका छोरा सांसद भण्डारी पनि उक्त घटनामा घाइते भएका छन् । उनलाई थप उपचारका लागि भारत लगिँदै छ। श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेशनल स्किन बर्न सेन्टरमा उपचारका लागि केहीबेरमै लैजाने तयारी गरिएको छ ।
उनको नेपालमा यथोचित उपचार सम्भव नभएपछि त्यसतर्फ लैजान लागिएको हो । अस्पतालले आज विज्ञप्ति जारी गरी उपलब्ध साधन र स्रोतबाट उनको यथोचित उपचार नेपालमा सहज नहुने देखिएकाले देशबाहिरका सुविधा सम्पन्न स्वास्थ्य संस्थामा यथाशीघ्र स्थानान्तरण सिफारिस गरेको हो।
भण्डारीको अवस्था बुझ्न कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, स्वास्थ्यमन्त्री पदम गिरी लगायत अस्पताल पुगेका थिए।







