काठमाडौँ- चितवन निर्वाचन क्षेत्र-२ मा आगामी २०८० साल वैशाख १० गते आइतबार प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन हुने भएको छ।
निर्वाचन आयोगको आइतबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ बमोजिम आगामी २०८० साल वैशाख १० गते आइतबारका दिन चितवन निर्वाचन क्षेत्र-२ मा खाली हुन आएको प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनको मिति तोक्ने निर्णय गरेको हो।
चितवन जिल्ला निर्वाचन क्षेत्र-२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रवि लामिछाने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ बमोजिम अयोग्य रहेको फैसला सर्वोच्च अदालतले गरेपछि रविले सांसदसँगै गृहमन्त्री र उपप्रधानमन्त्री गुमाएका थिए।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधिसभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भएबमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम आयोगले आज स्वीकृत गरेको उपनिर्वाचनसम्बन्धी निर्वाचन कार्यक्रमअनुसार २०७९ फागुन १ गतेदेखि २०७९ चैत १६ गतेसम्म मतदाता नामावली अद्यावधिक गरिनेछ।
उम्मेदवारको मनोनयन दर्ता २०७९ चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र चैत २३ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।







