काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचन आयोगले आफ्नो सोह्रौँ वार्षिक प्रतिवेदन पेश गरेको छ। राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले उक्त प्रतिवेदन पेश गरेका हुन्।
सो अवसरमा राष्ट्रपति भण्डारीले गत आवमा स्थानीय तह सदस्यको निर्वाचन र चालू आर्थिक वर्षमा प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन सफलतापूर्वक सम्पन्न गराएकामा आयोगलाई धन्यवाद दिइन्। उनले आवधिक निर्वाचन लोकतन्त्रको प्राण भएकाले समयमा नै निर्वाचन सम्पन्न हुनुपर्छ भन्ने प्रमाणित गरेकामा आयोगलाई धन्यवादसमेत दिइन्।
राष्ट्रपति भण्डारीले मतदाता नामावली सङ्कलन र अद्यावधिक निरन्तर सञ्चालन हुनुपर्नेमा जोड दिँदै सबै मतदाताले समानुपातिक निर्वाचन प्रणालीतर्फ आफूलाई पायक पर्ने स्थानबाट मतदान गर्न पाउने व्यवस्था गर्न आग्रहसमेत गरिन्।
उनले मतदानस्थलको सुरक्षा र सबै मतदाताले आफ्नो मताधिकार निर्वाध प्रयोग गर्नसक्ने स्थिति बनाउन तथा निर्वाचनपूर्व मतदाता शिक्षा घर परिवारस्तरसम्म पुर्याउन देशभरका सबै माध्यमिक विद्यालय लक्षित गरी निर्वाचनसम्बन्धी विशेष जागरण अभियान सञ्चालन गर्न समेत आग्रह गरिन्।
प्रमुख निर्वाचन आयुक्त थपलियाले गत आवमा भएका मुख्य गतिविधि र प्रतिवेदनको सारांश प्रस्तुत गरेका थिए। उनले निर्वाचनको सञ्चालन, व्यवस्थापन, रेखदेख, नियन्त्रण र निर्देशनका क्रममा आयोगले संविधान तथा कानुनको अधिनमा रही कार्य सम्पादन गर्दै आएको र प्राप्त सुझावका आधारमा एकीकृत निर्वाचन कानुनको मस्यौदा तयार गरी सरकारलाई हस्तान्तरण गर्ने तयारी भएको बताए।
कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाका साथै निर्वाचन आयुक्तहरू इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुन शमशेर जबरा र आयोगका सचिव गोकर्णमणि दुवाडीसमेतको उपस्थिति थियो।








