काठमाडौँ – विवेकशील साझा पार्टीले अध्यक्षमा समीक्षा बाँस्कोटालाई सर्वसम्मत चयन गरेकाे छ । शुक्रवार तथा शनिवार दुई दिन भएको महाधिवेशनले पार्टीको अध्यक्षमा बाँस्कोटालाई चयन गरेको हाे ।
यसैगरी उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।
त्यस्तै महासचिवमा रञ्जु दर्शना, सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी र कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत चयन भएका हुन् ।
महाधिवेशनले ५१ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ। महाधिवेशनले २१ जना केन्द्रीय सदस्यहरु चयन गर्ने र १३ जना केन्द्रीय समितबाट मनोनयन गरिने भएको छ। ८ केन्द्रीय सदस्य भने हाललाई रिक्त राखिने भएको छ।
वैकल्पिक राजनीतिको नारा बोकेर २०६९ सालमा उज्ज्वल थापाको नेतृत्वमा स्थापना भएको विवेकशील साझा पार्टीले ‘हामी उठ्नेछौं ’ भन्ने अठोटका साथ पुनर्जागरणको अभियान थालेको हो। पटक-पटक विभाजनको सिकार हुँदै आएको यो दलले काठमाडौंमा शुक्रबारदेखि दुईदिने प्रथम महाधिवेशन गरेर आफूलाई ब्युँताएको हो।
पार्टीको अध्यक्ष र महासचिव दुबै पदमा महिलालाई सर्वसम्मत रुपमा चयन गरेर पार्टीको महाधिवेशन शनिबार नै सकिएको छ।







