काठमाडौँ – सरकारले प्राथमिकतामा रहेका विभिन्न विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ ।
सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकका सम्बन्धमा विभिन्न दलका सचेतकहरुसँग छलफल गरेका हुन्।
छलफलका क्रममा जनसरोकारसँग जोडिएका विभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको छ । अब विधेयकहरूलाई सदनको बिजनेसमा अगाडि बढाउने समझदारी भएको छ । शान्ति प्रक्रियासँग सम्बन्धित विधेयक, जनजिविका, सुशासनसँग सम्बन्धित विधेयकलाई संसद्मा लैजाने समझदारी भएको छ । राष्ट्रिय सभाबाट प्रतिनिधिसभामा पठाउनुपर्ने विधेयक, संसद् अन्त्य भएकाले निष्क्रिय भएका विधेयकलाई पनि अगाडि बढाउने विषयका बारेमा पनि छलफल केन्द्रित भएको छ।
प्रधानमन्त्री दाहालको सचिवालयले राजनीतिक दलका सचेतकहरूसँगको बैठकमा विकास, सुशासन, संक्रमणकालीन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरू सदनमा लैजानबारे समझदारी भएको जानकारी दिएको छ । ‘जनसरोकारसँग प्रत्यक्ष जोडिएका, सुशासन र विकासका लागि आवश्यक कानुन निर्माणका लागि सरकारले सदनमा छलफलका लागि विधेयक प्रस्तुत गर्ने विषयमा आज छलफल भएको थियो,’ सचिवालयले भनेको छ ।
सरकारले विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायतका विषयमा तयार भएका विधेयकहरु सदनमा लैजाने तयारी गरेको छ ।
संसद सुरु भएपछि प्राविधिक कार्यमा व्यस्त रहेकाले अव संसदलाई बिजनेश दिने विषयमा छलफल केन्द्रित भएको थियाे ।







