काठमाडौँ – बलीउड फिल्म पठान सिनेमा हलमा रिलिज भएको ७ दिन भइसकेको छ । फिल्मको टिमले सफलताको खुशी मनाइरहेको छ । शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहमको अभिनय रहेको को फिल्ममा आशुतोष राना र डिम्पल कपाडिया पनि छन् । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्मले भारतको बक्स अफिसमा ३०० करोडको कमाईले बनेका बक्स अफिसका कैयौँ कीर्तिमान तोडेको छ । फिल्मको सफलतालाई मनाउन यशराज फिल्म्सले सोमबार साँझ विशेष पत्रकार सम्मेलनको आयोजना गरेको थियो । पत्रकार सम्मेलनमा शाहरुखले फिल्मको सिक्वेल आउने संकेत दिए र सिद्धार्थ आनन्दले पनि त्यसमा सहमती जनाएका थिए ।
शाहरुख खानले भने, ‘पठानमा काम गर्नु निकै ठूलो अनुभव थियो र आज म निकै गम्भीर छु । फिल्मप्रती दर्शकको माया र सफलताले लामो समयपछि मेरो परिवार, साथीभाइ र नजिकका सबैलाई खुशी दिएको छ । यो अवसरमा म धेरै खुसी छु र उत्साहित पनि छु ।
शाहरुखले थप हाँस्दै भने, “म यस पटक सिक्वेलको लागि आफ्नो कपाल कम्मरसम्म बढाउन तयार छु । पठान २ का लागि म आफ्नो सबै कुरा दिने प्रयास गर्नेछु।
सिद्धार्थले भने, हरेक फिल्ममेकर जस्तै मेरो पनि एक पटक शाहरुख खानसँग काम गर्ने इच्छाको थियो, जुन मैले पूरा गरेँ र पठान रिलिज भइसक्यो र हिट पनि भयो।
फिल्म अहिले हिन्दी, तमिल र तेलुगु भाषाका थिएटरमा चलिरहेको छ । यो एक था टाइगर, टाइगर जिन्दा है र वार पछि स्पाइ युनिभर्सको चौथो किस्ता हो। फिल्ममा टाइगरको रूपमा सलमान खानको क्यामियो र ऋतिक रोशनको चरित्र कबीरको उल्लेख गरिएको छ।







