काठमाडौँ – अमेरिकी नागरिकता त्यागेपछि पुनः नागरिकता लिने प्रक्रियामा नगएका कारण सांसद पदसँगै उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रवि लामिछानेले पुनः नागरिकता लिएसँगै आफूले लिएको पासपोर्ट फिर्ता गरेका छन् ।
लामिछानेले नागरिकता पुनः प्राप्तिसँगै राहदानी विभाग पुगेर आफ्नो राहदानी फिर्ता गरेका हु्न् ।
अमेरिकाको नागरिकता नत्याग्दै लामिछानेले २०७२ साल जेठ १३ मा नेपालको पासपोर्ट लिएका थिए । तर, अमेरिकी नागरिकता भने २०७५ असार ६ मा परित्याग गरेका थिए ।
लामिछाने निकट रास्वपा नेताका अनुसार नागरिकतामा सर्वोच्चको आदेशको सम्मान गर्दै नागरिकता लिएपछि उनले पुरानो पासपोर्ट फिर्ता गरेका हु्न् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले सभापतिमा रवि लामिछानेलाई पुनः चयन गरेको छ ।
सो पार्टीका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई सभापतिमा पुनः चयन गरेको हो । रास्वपाका एक नेताले दिएको जानकारीअनुसार लामिछानेलाई फेरि गृह मन्त्रीकै रुपमा पठाउने तयारी छ ।







