काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नागरिकताको विषय उठान गर्दै सांसद हुन अयोग्य रहेको भनि परेको रिटमा आजबाट अन्तिम सुनुवाइ हुँदै छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा रहेको लामिछानविरुद्धको रिटमा सुनुवाइ हुनेछ ।
लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता स्वतः खारेज भएको र पुनः नेपालको नागरिकता प्राप्त गर्न नागरिकता सम्बन्धी ऐन, २०६३ बमोजिमको प्रक्रिया पूरा नगरेको जिकिर रिट निवेदकको छ । पुनः प्राप्तिको प्रक्रिया नै पूरा नगरेका लामिछाने नेपाली नागरिक नरहेको र सांसद बन्न अयोग्य रहेको निवेदकको जिकिर छ । लामिछानेतर्फका कानुन व्यवसायीले भने लामिछानेले अमेरिकाको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता कायम नरहेको तर खारेज भने नभएको तर्क गर्दै आएका छन् । उनका कानुन व्यवसायीहरूले नागरिकता ‘कायम नरहेको’ र ‘त्याग गरेको’ विषय छुट्टाछुट्टै रहेको दाबी गरेका छन् । सोही दाबी अनुसार लामिछानको नेपाली नागरिकता कायम नरहेको अवस्थामा अमेरिकाको नागरिकता त्याग गर्नासाथ नेपाली नागरिकता आफैं सक्रिय हुने दाबी गरेका छन् ।
लामिछानेको नागरिकता मात्र नभएर नेपाली राहदानीसमेतमा निवेदकतर्फबाट प्रश्न उठाइएको छ । लामिछानेले अमेरिकाको नागरिकता त्याग नगर्दै नेपाली राहदानी प्राप्त गरेको उनी माथि आरोप छ ।







