काठमाडौँ – नेकपा एमालेका देवराज घिमिरेले सत्ता गठबन्धनबाट सभामुखमा उम्मेदवारी दर्ता गराएका छन्। बुधबार दिउँसो संघीय संसद् भवनमा पुगेर घिमिरेले सभामुखमा उम्मेदवारी दर्ता गराएका हुन्।
सुवास नेम्वाङ प्रस्तावक र गृहमन्त्री रवि लामिछाने, ऊर्जामन्त्री राजेन्द्र लिङदेन र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे समर्थक रहेका छन्।
प्रतिनिधिसभामा समामुखको निर्वाचन माघ ५ गते (भोलि) हुँदै छ। प्रतिनिधिसभा बैठक पनि भोलि बिहान ११ बजेका लागि बोलाइएको छ।
एमाले स्थायी कमिटी सदस्य घिमिरे पहिलोपटक झापा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका हुन्। हाल एमाले प्रदेश नम्बर १ को पार्टी इन्चार्जको भूमिकामा रहेका उनले २०५६ सालमै राष्ट्रियसभाको सांसद भएका थिए।
कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने
त्यसैगरी नेपाली कांग्रेसले प्रतिनिधिसभाको सभामुखमा ईश्वरी न्यौपानेलाई उठाउने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले सभामुखका लागि न्यौपानेलाई अघि सार्ने निर्णय गरेको हो ।
अहिले कांग्रेस केन्द्रीय संसदीय कार्यसम्पादन समितिको बैठक बसिरहेको र उक्त बैठकले औपचारिक रुपमा निर्णय गरेर नाम सार्वजनिक गर्ने तयारी भइरहेको एक पदाधिकारीले बताए ।
योसँगै कांग्रेसले नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायतका विपक्षी दलसँग सभामुखको उम्मेदवारीबारे साढे २ बजे सिंहदरबारमा छलफल गर्ने भएको छ ।
कांग्रेसले सभामुखका लागि सरकारको प्रतिपक्ष सबै पार्टीको समर्थनमा सभामुखको मनोनयन दर्ता गराउन जाने र त्यसका लागि सबैको सहमति आवश्यक भएकाले सबै विपक्षी दलका शीर्ष नेतालाई छलफलका लागि बोलाइएको कांग्रेस पदाधिकारीले बताए ।







