पाेखरा- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीलाई प्रदेश सभा सदस्यका ६० मध्ये ३१ जना सांसदहरूले विश्वासको मत प्रदान गरेका छन्।
उनलाई एमालेका २१, नेकपा माओवादी केन्द्रका आठ, राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई गरी ३१ जना सांसदहरूले विश्वासको मत दिएका हुन्। शुक्रबार मुख्यमन्त्री अधिकारीले विश्वासको मतका लागि संसद्मा प्रस्ताव पेस गरेका थिए। उनको प्रस्तावमा छलफल सकेपछि मतदान भएको थियो।
मतदानमा ५८ जना सांसदहरू सहभागी भएका थिए। एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका पर्वतका मित्रलाल बस्याल ज्येष्ठ सदस्यको रूपमा सभाध्यक्षको भूमिकामा रहेकाले उनले अधिकारीको पक्षमा मतदान गर्न पाएनन्। मनाङ ‘ख’ बाट स्वतन्त्र रूपमा निर्वाचित भएका राजीव गुरुङ दीपक मनाङे भने संसदमा उपस्थित भएनन्।
अधिकारीको विपक्षमा विपक्षमा २७ मत मात्रै परेका छन्। गण्डकी प्रदेश सभामा ६० जना सांसद सदस्यहरू रहने व्यवस्था छ। यो अनुसार बहुमत बनाउनको लागि कम्तीमा ३१ मत आवश्यक पर्छ। अधिकारीले आवश्यक न्यूनतम सङ्ख्या ३१ मत नै प्राप्त गरेका हुन्।







