काठमाडौं – एसएस राजामौली निर्देशित चलचित्र आरआरआर को नाटु नाटु गीतले गोल्डेन ग्लोब अवार्ड जितेको छ । गोल्डेन ग्लोबको ८०औं संस्करणमा नाटु नाटु गीतले बेस्ट ओरिजिनलन संग मोसन पिक्चर को अवार्ड हात पारेको हो ।
जुनियर एनटीआर र रामचरण अभिनय रहेको चलचित्रको यो गीत पनि विश्वभर मन पराइएको थियो । चन्द्रबोशको शब्द रहेको तेलुगु भाषाको यस गीतको कम्पोज भने एमएम कीरवणीले गरेका हुन् । त्यस्तै यस गीतमा स्वर दिएका छन् राहुल सिपलीगन्ज र काल भैरवले ।
‘आरआरआर’ गोल्डेन ग्लोबको दुई वटा विधामा मनोनयनमा परेको थियो । चलचित्रलाई सर्वश्रेष्ठ गैरअंग्रेजी फिल्मको विधामा पनि मनोनीत गरिएको थियो । तर यस विधामा भने अर्जेन्टिनी फिल्म ‘अर्जेन्टिना, १९८५’ ले जित हात पारेको छ ।
भारतीय बक्सअफिसमा विभिन्न रेकर्ड तोडेको ‘आरआरआर’ ले विश्वभरबाट झन्डै १२ सय करोड भारतीय रुपैयाँ कमाएको छ । यो फिल्म जापानमा पनि सबैभन्दा बढी कमाउने भारतीय फिल्म बनेको थियो ।








