काठमाडौं – विशेष अदालतले नेपाल इन्जिनियरिङ कलेजको निजीकरण गरी भ्रष्टाचार लेनदेन गर्ने दुवै पक्षलाई दोषी ठहर गरी कैद सजाय सुनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई तीन वर्ष कैद र ३९ लाख जरिवानाको सजाय सुनाएको छ । उनलाई घुस खुवाउने लम्बोदर न्यौपानेलाई पनि उति नै अर्थात तीन वर्ष कैदसहित ३९ लाख जरिवाना भराउने फैसला भएको छ ।
विशेषका अध्यक्ष श्रीकान्त पौडेल तथा सदस्यद्वय यमुना भट्टराई र बलभद्र बाँस्तोलाको इजलासले बिहीबार फैसला गरेको हो । तत्कालीन आयुक्त पाठकले बोलेअनुरुप काम नगरेको भन्दै घुस डिल गरेको भिडियो सार्वजनिक भएपछि तत्कालीन आयुक्त पाठक र नेपाल इन्जिनियरिङ कलेजका सञ्चालक न्यौपानेविरुद्ध अख्तियारले २०७५ चैत १२ मा मुद्दा दायर गरेको थियो ।







