काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गरेका छन् ।
आज भएको मतदानमा उनको पक्षमा २६८ मत पर्यो । विपक्षमा दुई मत पर्यो । उनलाई नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी जनतम पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीसहित स्वतन्त्र सांसदहरूको समर्थन गरेका हुन् । नेमकिपा र राष्ट्रिय जनमोर्चाले भने विपक्षमा मतदान गरे ।
विश्वासको मत दिए पनि कांग्रेस र एकीकृत समाजवादीले प्रतिपक्षमा बस्ने बताएका छन्। तर झण्डै दुई तिहाई नजिक रहेको सरकारलाई विश्वासको मत दिएर प्रतिपक्षी बेन्चबाट आलोचना गर्न नैतिक संकट आइपर्नेछ।
संविधानको धारा ७६ (२) बमोजिम नियुक्त प्रधानमन्त्रीले उपाधारा ४ बमोजिम विश्वासको मत प्राप्त गरेका हुन्। विश्वासको मत प्राप्त गरिसकेपछि सत्ता साझेदार दलले समर्थन फिर्ता नलिएमा वा प्रधानमन्त्रीले राजीनामा नदिएमा दुई वर्षसम्म सरकार निरन्तर अघि बढ्नेछ ।
प्रधानमन्त्री नियुक्त भएको पहिलो दुई वर्षसम्म अविश्वासको प्रस्ताव पेश गर्न नमिल्ने संवैधानिक व्यवस्था छ। तर प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजित भएमा वा सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा तीस दिन भित्र प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्नेछ ।







