काठमाण्डाै – प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनमा एउटै चुनाव चिह्नबाट लडेका पुष्पकमल दाहाल नेतृत्वको माओवादी केन्द्र र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबीच पार्टी एकता हुने भएको छ । एकीकृत पार्टीको नाम नेकपा समाजवादी राख्ने करिब सहमति भएको छ । एकीकृत पार्टीको नाम परिवर्तन गर्नुपर्ने भट्टराईको सर्त मान्न दाहाल तयार भएपछि एकताको वातावरण बनेको हो ।
एकता प्रक्रिया अघि बढाउन शनिबार बिहान दाहाल र भट्टराईबीच भेटवार्ता भएको थियो । नेताहरूका अनुसार भट्टराईले पार्टीको नाममा ‘नेकपा’ पनि हटाउन माग गरेका थिए । तर आफूहरू ‘माओवादी’ हटाउन तयार भएका कारण नेकपा राख्नुपर्ने तर्क दाहालले गरेका थिए । पार्टी एकताको प्राविधिक तयारीका लागि दुवै पार्टीले वार्ता समिति बनाउने सहमति भएको छ ।
त्यहीअनुसार माओवादीले बृहत् वाम एकताका लागि कृष्णबहादुर महराको संयोजकत्वमा पाँच सदस्यीय वार्ता समिति बनाएको छ । समितिमा महासचिव देव गुरुङ र उपमहासचिवहरू जनार्दन शर्मा, गिरिराजमणि पोखरेल र शक्ति बस्नेत सदस्य छन् । समाजवादीले भने आइतबार राजनीतिक समितिको बैठकमार्फत समिति बनाउने तयारी गरेको छ । ‘माओवादी केन्द्र र नेसपाबीच पार्टी एकताको कोर्स अगाडि बढेको छ,’ नेसपाका नेता गंगानारायण श्रेष्ठले भने ।
स्रोतका अनुसार एकीकृत पार्टीमा दाहालले प्रधानमन्त्रीका रूपमा सरकारको काममा ध्यान दिने र दोस्रो वरीयतामा रहेर भट्टराईले पार्टी काममा समय लगाउने समझदारी भएको छ । ‘भट्टराईले पार्टी नेताको हैसियतमा प्रधानमन्त्री दाहाललाई सरकारको काममा पनि सघाउनुहुनेछ,’ माओवादीका एक पदाधिकारीले भने ।
माओवादी र नेसपाबीच एकता भएपछि समाजवादी धार निर्माणका लागि माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी, उपेन्द्र यादव नेतृत्वको जसपा र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानसँग पनि वार्ता अगाडि बढाउने दाहाल र भट्टराईको तयारी छ । एकीकृत समाजवादी, जसपा र नेकपा एकता राष्ट्रिय अभियानले वामपन्थी–समाजवादी शक्तिहरूबीच एकता गर्ने सैद्धान्तिक निर्णय गरिसकेका छन् । एकीकृत समाजवादी र जसपाले त वार्ता समितिसमेत बनाएका छन् । एकीकृत समाजवादीको पोलिटब्युरो बैठकले यसअघि नै महासचिव बेदुराम भुसालको नेतृत्वमा गंगालाल तुलाधर, विजय पौडेल र प्रकाश ज्वाला सदस्य रहेको वार्ता समिति बनाएको हो । ‘हामीले पहिला नै वार्ता टोली बनाएका थियौं । जसपाले पनि बनाएपछि हामीले शनिबार एक चरण छलफल गर्यौं । पार्टी एकता र कार्यगत एकताका विषयमा छलफल गर्दै जाऔं भन्नेछ,’ वार्ता संयोजक भुसालले भने ।







