काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्वसम्मत रुपमा संसदीय दलको नेतामा चयन भएका छन् ।
बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको दलको बैठकले प्रचण्डलाई सर्वसम्मत नेता चयन गरेको हो। प्रत्यक्षका १८ र समानुपातिक तर्फका १४ गरी ३२ सांसद रहेको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफूलाई अबको प्रधानमन्त्रीका रुपमा अघि सार्दै आएका छन्।
हितराज पाण्डे संसदीय दलको प्रमुख सचेतक चयन भएका छन्। यस्तै राष्ट्रियसभा संसदीय दलको नेतामा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चयन भएको प्रचण्डको सचिवालयले जनाएको छ।
बैठकले दलको अन्तरिम विधान पारित गरेको र अर्को व्यवस्था नभएसम्म त्यही विधानअनुसार अगाडि बढ्ने निर्णय गरिएको छ । बैठकले सांसदहरुलाई कार्यशालासहित प्रशिक्षण सञ्चालन गरेर व्यवस्थित गर्ने निर्णय पनि गरेको माओवादी केन्द्र संसदीय दलका नवनिर्वाचित प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
प्रतिनिधिसभाको उपनेता, सचेतकलगायत विषयमा भने क्रमश गृहकार्य गर्दै अगाडि बढ्ने माओवादीले बताएको छ । माओवादी केन्द्रको उपनेतामा भने नेताहरु वर्षमान पुन र जनार्दन शर्माले दाबी गरेका छन् ।







