काठमाडौं – प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा नवनिर्वाचित सदस्यहरूलाई ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले शपथ गराएका हुन् ।
नेपालको संविधानको धारा ८८ बमोजिम संघीय संसद्को प्रत्येक सदनका सदस्यले सदन वा त्यसको कुनै समितिको बैठकमा पहिलोपटक भाग लिनुअघि सङ्घीय कानुनबमोजिम शपथ लिनुपर्ने व्यवस्था छ ।सभामुख चयन हुनुअघि ज्येष्ठ सदस्यले प्रतिनिधिसभा सदस्यलाई शपथग्रहण गराउने व्यवस्था छ ।
ज्येष्ठ सदस्यलाई राष्ट्रपतिले शपथग्रहण गराएपछि अन्य सदस्यलाई शपथ गराउने प्रावधान छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाका नवनिर्वाचित ज्येष्ठ सदस्य पशुपतिशम्शेर जबरालाई बुधबार पद तथा गोपनीयताको शपथ गराएकी थिइन्।
शपथ लिएसँगै नवनिर्वाचित जनप्रतिनिधिहरू वैधानिक रुपमा सांसद भएका छन् । सांसद भएसँगै उनीहरूलाई सांसदले लगाउने लोगो प्रदान गरिएको छ ।







