काठमाडौं- कांग्रेस संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएका छन् ।
बुधबार भएको निर्वाचनमा प्रधानमन्त्रीसमेत रहेका देउवाले ६४ मत ल्याएर विजयी भएका हुन् । उनीसँग प्रतिस्पर्धामा रहेका महामन्त्री गगन थापाले २५ मत ल्याए ।
कांग्रेस संसदीय दलको निर्वाचनमा नवनिर्वाचित ८८ सांसदले मतदान गरेका थिए । कांग्रेसका ८९ जना सांसद भए पनि टेकबहादुर गुरुङ निलम्बित अवस्थामा रहेकाले मतदान गर्न पाएनन् ।
लामो समयदेखि नेतृत्व परिवर्तनको आवाज उठाउँदै आएका वरिष्ठ नेता रामचन्द्र पौडेल मुद्दा विसर्जन गर्दै देउवाकै प्रस्तावक बसेका थिए। पौडेलको प्रस्तावमा पूर्णबहादुर खड्का समर्थक थिए ।
थापाको प्रस्तावकमा शेखर कोइराला थिए भने युवा नेताहरू धनराज गुरुङ, विश्वप्रकाश शर्मा र प्रदीप पौडेलले समर्थन गरेका थिए ।







