काठमाडौं- मूल्य समायोजनमा अन्यौल देखिएको नेपाल आयल निगमले चौतर्फी दवाब आएपछि इन्धनको मूल्य केहि घटाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले मूल्य घटाएर नयाँ सूची पठाएसँगै नेपालमा यसको भाउ घटेको हो । निगमले शुक्रबार पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको हो । केहिमात्रामा मूल्य घटाएपनि मूल्य समायोजन गरीएको छैन् ।
भारतीय आयल कर्पोरेसन (आईओसी) ले नेपाल आयल निगमलाई इन्धनको मूल्य बढाएर पठाउँदा स्वचालित समायोजनको नाममा मूल्य बृद्धि हुने गरेकोमा मूल्य घट्न थालेपछि सो नियम लागु गरिएको छैन । आईओसीले शुक्रबार पठाएको सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा, डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको छ । यस पटक पनि घटेर मूल्यसूची आएकाले उपभोक्ताका लागि इन्धनको मूल्य केही घटाइएको निगमले जनाएको छ ।
आईओसीको पछिल्लो सूचीअनुसार पेट्रोल प्रतिलिटर ६ रुपैयाँ ९० पैसा घटेर आउँदा नेपाल आयल निगमले जम्मा ३ रुपैयाँ मात्र घटाएको छ । त्यस्तै डिजेल १२ रुपैयाँ ३१ पैसा तथा हवाई इन्धन १० रुपैयाँ ६१ पैसा घटेको तर नेपाली उपभाक्तकोलागी जम्मा ३ रुपैयाँले मूल्यमा कमि गरेर घटाएको जस्तो मात्र गरीएको छ ।
मूल्य बढेर आउँदा स्वचालित समायोजनको नाममा मूल्य बृद्धि गर्ने निगमले यसपटक पनि उपभाक्तालाई झुक्याएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेसँगै आईओसीले पनि मूल्य घटाएकाे हो ।
घटेको मूल्यअनुसार अब प्रतिलिटर पेट्रोल १७८ र डिजेल, मट्टीतेल १७५ पर्नेछ । यसअघि पेट्रोल प्रतिलिटर १८१ र डिजेल, मट्टीतेल १७८ रुपैयाँ थियो ।







