काठमाडौं – करारमा रहेर १५ वर्ष सेवा गरेका दुईजना विमानपरिचारिकालाई बिनाकारण सेवामा निरन्तरता नदिएको विरोधमा नेपाल वायुसेवा निगमका क्याबिन क्रुले हड्ताल गर्दा निगमको बुधबार दिउँसो १:४५ बजेको दिल्ली उडान प्रभावित भएको छ ।
आफ्ना सहकर्मीको करार नवीकरण नगरेको विरोधमा बुधबार दिल्ली उडानका लागि विमानस्थल पुगेका क्याबिन क्रु (परिचारिका र परिचारक) ले ‘जरुरी काम’ परेको कारण देखाउँदै बिदा लिई घर फर्केपछि निगमको १:४५ को उडान प्रभावित भएको हो ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले निगमको विमानस्थल कार्यालय प्रमुखलाई दिल्ली जाने यात्रु जहाजमा बसिसकेकाले एक घण्टाभित्र जहाज उडाइसक्न निर्देशन दिएको छ ।
‘निगमको लाचार व्यवस्थापनका कारण देशैकै बदनाम नहोस् । जहाज एक घण्टाभित्र उडाइसक्न निगमको विमानस्थल इन्चार्ज मुकेश प्रधानलाई निर्देशन दिएको छु,’ विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले भने, ‘निगमका कारण जहिल्यै नागरिक उड्डयन प्राधिकरण, विमानस्थल र देशै बदानाम भइरहेको छ ।’







