काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले संघीयताको सफल कार्यान्वयनका लागि संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर अगाडि बढ्न आवश्यक रहेको बताएका छन् । उनले तीनवटै तहलाई संघीयता कार्यान्वयनका लागि एकताबद्ध भएर अघि बढ्न पनि आह्वान गरेका छन् ।आइतबार काठमाडौंमा आयोजित गाउँपालिका राष्ट्रिय महासंघ नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनलाई उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन्।
उनले संघ, प्रदेश र स्थानीय तहको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न भएको उल्लेख गर्दै अव नागरिकमा सुशासन र विकासको अनुभूति गराउने कामलाई प्राथमिकता दिनुपर्ने आवश्यक्ता समेत औंल्याए।
प्रधानमन्त्री देउवाले संघीयताको सफल कार्यान्वयनका लागि स्थानीय तहको सवलीकरण हुने गरी कानुनहरुको निर्माण गर्ने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पारे।
जनसेवाको कामलाई प्रभावकारी रुपमा सम्पन्न गर्न सार्वजनिक सुनुवाई, जनभेला, जनसहभागिता, घरदैलो सेवा, हेला सरकार लगायतका सबै सार्वजनिक सेवाहरुलाई प्रभावकारी रुपमा सबै तहमा लागु गर्नुपर्नेमा पनि प्रधानमन्त्री देउवाको जोड थियो।
गाउँपालिका राष्ट्रिय महासंघले आवश्यक समन्वय र सहजीकरण गर्न आवश्यक भएको बताउँदै उनले भने‚ ‘स्थानीय निकायले सार्वजनिक सेवा प्रवाहलाई चुस्त बनाएर भ्रष्टाचार शून्य नीति लिएर अघि बढ्न म विशेष अनुरोध गर्दछु ।’







