काठमाडौं : निर्वाचन आयोगले समानुपातिकतर्फको सिट बाँडफाँड गरेर आज दलहरुलाई पत्रचार गर्ने भएको छ।
दलहरुले प्राप्त गरेको मतका आधारमा सिट र क्लस्टर छुट्ट्याएर उनीहरुले बन्दसूचीमा उल्लेख गरेका नाम माग्न पत्राचार गरिने आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए।
दलहरुलाई नाम पठाउन तीन दिनको समय दिइने आयोगले जनाएको छ। दलहरूबाट नामावली सिफारिस भइसकेपछि
आयोगले यही मङ्सिर २८ गतेभित्रमा निर्वाचनको सम्पूर्ण परिणामसहितको प्रतिवेदन राष्ट्रपतिसमक्ष बुझाउने तयारी गरेको छ।
२ सय ७५ सदस्यीय प्रतिनिधिसभामा १ सय ६५ जना प्रत्यक्ष निर्वाचनबाट र १ सय १० जना समानुपातिकबाट निर्वाचित हुने व्यवस्था छ। आयोगका अनुसार प्रतिनिधिसभामा समानुपातिकतर्फ सबैभन्दा बढी लोकिप्रय मत पाएको एमालेले ३४, नेपाली कांग्रेसले ३२, नेकपा माओवादी केन्द्रले १४, राष्ट्रिय स्वतन्त्र पार्टीले १३, राप्रपाले ७, जसपा र जनमत पार्टीले ५/५ सिट पाएका छन्।
यो नतिजासँगै प्रत्यक्षमा ५७ सिट जितेको नेपाली कांग्रेस कूल ८९ सिटसहित पहिलो दल बनेको छ। प्रत्यक्षमा ४४ सिट जितेको नेकपा एमाले ७८ सिटसहित दोस्रो बनेको छ। तेस्रो दल बनेको नेकपा (माओवादी केन्द्र) ले प्रत्यक्षको १८ सहित ३२ सिट प्राप्त गरेको छ।
पहिलो पटक संसद प्रवेश गर्न लागेको राष्ट्रिय स्वतन्त्र पार्टीले प्रत्यक्षको ७ सहित कूल २० सांसदसहित बलियो उपस्थिति जनाउनेछ। यसअघि एक सिटमा सिमित राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकबाट ७ गरी १४ सिट पुर्याएको छ। जनता समाजवादी पार्टीे प्रत्यक्षबाट ७ र समानुपातिकबाट ५ गरी १२ सिटमा सिमित हुँदा मधेशबाट उदाएको सिके राउत नेतृत्वको जनमत पार्टीले प्रत्यक्ष एक र समनुपातिकबाट ५ गरी ६ सिट प्राप्त गर्ने भएको छ।
थ्रेसहोल्ड कटाउन नसकेका नेकपा एकीकृत समाजवादीले प्रत्यक्षतर्फ १०,लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा) ले ४, नागरिक उन्मुक्ति पार्टीले ३, राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले एक एक सिट जित्दा ५ सिटमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन्।







