काठमाडौं – दोलखाका १० वटा मतदान केन्द्रमा आज बिहीबार मतदान हुँदै छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार केहिबेरमा निर्वाचन सुरु हुँदै छ । निर्वाचनका लागि संपूर्ण तयारी हिजो नै पूरा भएको छ । चार वटा बुथमा करिब आठ हजार मतदाता रहेका छन् ।
आयोगको यही मङ्सिर ११ गते बसेको बैठकले दोलखाको वैत्यश्वर गाउँपालिका–६ का वैत्यश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख, ग, वडा नम्बर २ को जनज्योति माध्यमिक विद्यालय पुतली काठका मतदान केन्द्र क र ख, तामाकोसी गाउँपालिका–३ हेल्थपोस्ट भवन जफे मतदान केन्द्रका क र ख गरी सात वटा मतदान केन्द्रमा यही मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनलाई रद्द गरी सोही ठाउँमा पुनः मतदान गर्ने निर्णय गरेको थियो ।
आयोगले वैत्यश्वर वडा नम्बर ३ को कालीढुङ्गा मावि मतदान केन्द्रमा क, ख, ग मतदान केन्द्र भएको मतदानलाई पनि रद्द गरी पुनः मतदान गर्ने निर्णय गरी उक्त दिन पुनः मतदान सम्पन्न गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय दोलखालाई निर्देशनसमेत दिएको थियो ।







