काठमाण्डौ- राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट काठमाण्डौक्षेत्र नम्बर २ मा प्रतिनिधि सभा सदस्य निर्वाचित सोविता गौतमले जनताले जित नभएर जिम्मेवारी सुम्पिएको बताएकी छन्।
बुधबार दिउँसो मतदातालाई धन्यवाद दिँदै उनले काठमाडौं क्षेत्र नम्बर २ ले फेरि इतिहास रचेको बताइन्। ‘हिजो उम्मेदवारी दिँदा मसँग मेरो परिवारको मात्रै साथ थियो। आज मेरो परिवारमा काठमाण्डौ- २ का मतदाता पनि जोडिनुभएको छ। मलाई तपाईंहरूले जित होइन जिम्मेवारी दिनुभएको छ। तपाईंहरूको सपना म पूरा गर्नेछु,’ उनले भनिन्।
काठमाण्डौ- २ ले यसपटक पनि इतिहास कायम गरेको उनको भनाइ छ। ‘यो क्षेत्रबाट निर्वाचित विद्यादेवी भण्डारी राष्ट्रपति हुनुभयो। माधवकुमार नेपाल प्रधानमन्त्री हुनुभयो। यसपटक सबैभन्दा कान्छो र महिला उम्मेदवार चयन गरेर इतिहास कायम गरेको छ,’ उनले भनिन्।
मतदाताको सपना र आशा पूरा गर्न आफू सधैँ अग्रसर हुने उनको प्रतिवद्धता छ। गौतम १५ हजार २ सय २९ मतसहित निर्वाचित भएकी हुन्।







