काठमाडौं – काठमाडौं महानगरपालिकाले आजदेखि अनधिकृत परिचयपाटी/साइनबोर्डहरु हटाउन सुरु गरेको छ । महानगरले अनधिकृत परिचयपाटी हटाउन दिएको ३० दिने अल्टिमेटम सकिएसँगै हटाउने काम सुरु गरेको हो ।
तोकिएको समयसीमा भित्र नहटाउने परिचयपाटी हटाउन सुरु गरेको राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीले जानकारी दिए । “परिचयपाटी हटाउँदा ख्याल गर्नुपर्ने केही बुँदा हामीले टोलीलाई सम्झाएका छौँ । यो विषय सर्वसाधारणलाई पनि थाहा हुन आवश्यक छ,” उनले भने, “३० बर्गफुटभन्दा धेरै आकार भएका सबै बोर्ड हटाइनेछ । प्रायोजकको वोर्ड पनि यही आकारभित्र हुनुपर्नेछ । मापदण्डभित्रका बोर्ड वडामा गएर राजस्व तिरेपछि राख्न सकिन्छ ।” केहि ब्यापारीक सस्थाहरुले परिचय पाटि हटाएर मापदण्ड अनुसार राखे पनि प्राय पसल व्यबसायीहरु भने यो बिषयमा अनविज्ञ नै रहेको पाइएको छ ।
व्यवसायिक स्थलमा ३० वर्गफुटभित्र जुनसुकै आकारको भए पनि एउटाभन्दा धेरै बोर्ड हटाइनेछ । सार्वजनिक स्थलमा रहेका झ्याल, ढोका छोपिने गरी राखिएका, छतमा राखिएका सबै वोर्ड हटाइनेछ ।
भित्तेलेखन, अनधिकृत पर्चा, पम्प्लेट र पोस्टर पनि हटाइने महानगरले जनाएको छ । विभागले असोज ७ गते ३० दिने सूचना दिएर मापदण्डभित्र राख्न सकिने परिचयपाटीको आकार र त्यसमा वार्षिक रुपमा लाग्ने करको दरसमेत उल्लेख गरेर अल्टिमेटम जारी गरेको थियो ।







