काठमाडौं – निर्वाचन आयोगले मतदानका दिन अशक्त, दीर्घ रोगी, ज्येष्ठ नागरिक मतदातालाई सवारीसाधन प्रयोग गर्न दिने भएको छ । यस्ता मतदातालाई सवारीसाधन प्रयोग गरी मतदान केन्द्रसम्म पुर्याउन र फर्किनका लागि सहजीकरण गर्न मुख्य निर्वाचन अधिकृत/निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचन कार्यालयलाई निर्देशन दिएको छ ।
यसअघि सार्वजनिक सवारीसमेत चलाउने सक्ने आयोगका पदाधिकारीहरूले बताएका थिए । तर सुरक्षा संयन्त्रले सुरक्षा चुनौती रहेको सुझाव दिएपछि आयोग सार्वजनिक सवारी चलाउने अडानबाट पछि हटेको हो ।
‘मतदान केन्द्र निर्माण गर्दा सम्भव भएसम्म अपांगता भएका, सुत्केरी, ज्येष्ठ नागरिक, बिरामी तथा अशक्त मतदाताका लागि समेत सहज हुने गरी निर्माण गरी सबैको सहज पहुँच सुनिश्चित गर्ने,’ आयोगले दिएको निर्देशनमा भनिएको छ ।
मतदान कक्ष बनाउँदा, मतपेटिका राख्दा धेरै अग्लो ठाउँमा नबनाउन पनि आयोगले भनेको छ । होचो कद वा अपांगता भएका व्यक्ति, ज्येष्ठ नागरिक मतदाताले पनि सजिलै मत संकेत गर्न सक्ने गरी संरचना बनाउन आयोगले निर्देश गरेको हो । आयोगका अनुसार हरेक मतदान केन्द्रमा गर्भवती, अशक्त, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी मतदाताका लागि विश्राम गर्ने ठाउँको व्यवस्था गर्नुपर्ने हुन्छ ।







