काठमाडौं- पहिलो फिल्म प्रदर्शन भएको १३ वर्षपछि ‘अवतार’को दोस्रो भाग अर्थात ‘द वे अफ वाटर’ प्रदर्शनको तयारीमा छ। २ सय ५० मिलियन अमेरिकी डलर बजेट बताइएको फिल्म आगामी डिसेम्बर १६ मा प्रदर्शनमा आउँदैछ।
सन् २००९ मा प्रदर्शनमा आएको हलिउड फिल्म ‘अवतार’ आज पनि सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा पहिलो नम्बरमा छ।यसको बक्स अफिस कलेक्सन २ दशमलव ९२ बिलियन अमेरिकी डलर (झण्डै ३ खर्ब ८६ अर्ब ९० करोड नेरू) भन्दा बढी रहेको छ।
अवतार’ प्रदर्शनमा आउनुअघि सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा ‘टाइटनिक’ नै पहिलो नम्बरमा रहेको थियो। अवतारका लेखक, निर्देशक तथा सह निर्माता जेम्स क्यामरुनकै लेखन, निर्देशन तथा सह निर्माणमा बनेको ‘टाइटनिक’ (१९९७०) नै २ बिलियन अमेरिकी डलर कमाउने पहिलो फिल्म हो।
क्यामरुनको ड्रिम प्रोजेक्ट रहेको ‘अवतार’ ‘टाइटनिक’भन्दा अगाडि प्रदर्शनमा ल्याउने तयारी भएको थियो। सन् १९९४ मै स्क्रिप्टको पहिलो ड्राफ्ट तयार भइसकेको भए पनि विविध कारणले फिल्म सुट भएर प्रदर्शनमा आउन १५ वर्ष लागेको थियो।
’अवतार’ प्रदर्शनमा आउनुअघि नै क्यामरुन यसलाई फ्रेन्चाइज बनाउने योजनामा थिए। ‘अवतार’ प्रदर्शनमा आएपछि उनी अन्य फिल्मको काम नलिई यसकै फ्रेन्चाइजको काममा व्यस्त भए।
भर्खरै सार्वजनिक भएको दोस्रो भागको ट्रेलरले विश्व सिनेमामा नै एउटा तरंग पैदा गरेको छ। फिल्मका अधिकांश दृश्य पानीमा छायांकन गरिएको छ।
सामान्यतया फिल्ममा पानीको दृश्य राख्नुपरे भिएफएक्स तथा एनिमेशनको प्रयोग गरिनेमा ‘अवतार २’ मा भने सबै दृश्य साँच्चिकै पानीभित्र नै छायांकन गरिएको छ। जसको लागि सबै कलाकारलाई लामो तालिम दिइएको थियो।
फिल्म छायांकनकै लागि ९ लाख ग्यालन पानीको एउटा ट्यांक बनाइएको थियो। पानीभित्र अन्य यन्त्रको प्रयोगबाट सास फेर्दा पानीमा फोकाहरू देखिने र त्यसले फिल्मको सम्पादनमा समस्या पार्ने देखिएपछि क्यामरुनले सबैलाई पानीभित्र सास नफेरी बस्ने अभ्यास गराएका थिए।
त्यहीअनुसार नै फिल्मको छायांकन भएको थियो। फिल्मकी मुख्य अभिनेत्रीमध्येकी एक केट विन्स्लेटले एक सञ्चारमाध्यममा महिनौँ दिनको अभ्यासका कारण आफू ७ मिनेट १४ सेकेन्डसम्म पानीभित्र सास नफेरी बस्न सक्ने भएको बताएकी थिइन्।
त्यस्तै उमेरले ७२ वर्ष काटेकी अर्की अभिनेत्री सिगोर्नी विवरले पनि आफू ६ मिनेटभन्दा बढी पानीभित्र सास नफेरी बस्ने सक्ने भएको बताएकी थिइन्।
गोर्नी ‘अवतार’मा वैज्ञानिक किरीको भूमिकामा देखिएकी थिइन्। दोस्रो भागमा पनि उनको यही पात्रले निरन्तरता पाउनेछ भने केट र क्यामरुनले ‘टाइटनिक’पछि पहिलो पटक सहकार्य गरेका हुन्।
फिल्मको दोस्रो भाग आउन १३ वर्ष लागे पनि अब भने हरेक २ वर्षमा अवतारका नयाँ भाग ल्याउने तयारीमा निर्माण टोली रहेको छ। दोस्रो र तेस्रो भागको छायांकन एकसाथ गरिएको थियो।
‘अवतार’को पहिलो भाग बनाउनका लागि प्रविधिको विकास नभएकाले क्यामरुन केही वर्ष रोकिनु परेको थियो।
यो पटक पनि उनले सोचेको जस्तो पानीभित्रको दृश्य खिच्न कुनै क्यामेराको विकास भइसकेको थिएन। फिल्म खिच्नकै लागि क्यामरुनले सोनीसँग सहकार्य गरी नयाँ क्यामेरा बनाएका थिए। सोही क्यामेराले यो फिल्म खिचिएको हो।
फिल्म प्रदर्शन हुनुअगाडि नै ‘अवतारः द वे अफ वाटर’ले बक्स अफिसमा ‘अवतार’को कीर्तिमान तोड्ने अनुमान गरेका छन्।
सन् १९९७ मा ‘टाइटनिक’ र २००९ मा ‘अवतार’ले जस्तै ‘अवतार २‘ ले पनि कमाइको नयाँ कीर्तिमान बनाउँछ या यो पटक क्यामरुनलाई आफ्नै कीर्तिमान भंग गर्न गाह्रो पर्छ त्यो भने हेर्न बाँकी छ।






