काठमाडौ- निर्वाचन आयोगले सार्वजनिक पद धारण गरेका व्यक्तिले निर्वाचन प्रचारप्रसारमा जाँदा निर्वाचन आयोगको अनुमति लिनुपर्ने बताएको छ । निर्वाचन प्रचारप्रसारको प्रमुख चरण सुरु हुन लाग्दा पत्रकार सम्मेलन गर्दै आयोगले यस विषयमा प्रष्ट पारेको हो।प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कुनै पनि तहका सरकारको स्रोतसाधन प्रयोग गरेर चुनाव प्रचारमा जान नमिल्ने बताए।
प्रधानमन्त्री, मन्त्री र प्रदेशका मन्त्रीहरू आयोगको अनुमति लिएर विभिन्न स्थानमा चुनाव प्रचारमा जान सक्ने भए पनि त्यसरी जाँदा सरकारी सुविधा लिन नपाइने थपलियाले बताए।
निर्वाचन आयोगले नेपालको संविधानले प्रदान गरेको नेपालको कुनै पनि भूभागमा आवतजावत गर्न पाउने हकलाई रोकटोक गर्दैन । तर‚ सार्वजनिक पद धारण गरेका माननीय प्रधानमन्त्री‚ मन्त्री र प्रदेशमन्त्रीज्यूहरूले अनुमति लिएर जानसक्नुहुन्छ । त्यसरी जाँदा कुनै पनि सरकारी स्रोतसाधनको प्रयोग गर्न हुँदैन‚’ प्रमुख आयुक्त थपलियाले भने ।
आयोगले बुधबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवालाई नै सरकारी सुविधामा गृह जिल्ला डडेल्धुरा जान नमिल्ने पत्र पठाएको थियो।







