काठमाडौं – बलिउड अभिनेता शाहरुख खानको फिल्म ‘पठान’को पहिलो टिजर सार्वजनिक भएको छ। शाहरुखको जन्मदिनको अवसर पारेर बुधबार युट्युबमार्फत फिल्मको टिजर सार्वजनिक गरिएको हो।
टीजर स्टाइलिश र तीव्र एक्सनले भरिएको छ । बलिउड अचेल दक्षिणी भारतिय चलचित्रहरुको दवाबमा परेको छ । बलिउडका शीर्ष स्टारका फिल्महरूले समेत बक्स अफिसमा खासै सफलता नपाएका बेला सबैको नजर बलिउड बादशाह शाहरुख खानको आगामी फिल्म पठानमा छ। ‘जिरो’को असफलता पछि शाहरुख खान लामो समय पछि कमब्याक गर्दै छन् । सन २०१८ को डिसेम्बरमा जिरो प्रदर्शन भएको चार वर्षपछि पठान आउन लागेको हो। यो शाहरुखको करिअरको सबैभन्दा लामो विश्राम पनि हो। पठान २०२३ जनवरी २५ देखि प्रदर्शनमा आउँदै छ।
फिल्मलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् भने निर्माण आदित्य चोपडाको हो। फिल्ममा शाहरुख केन्द्रीय पात्र पठानको भूमिकामा देखिएका छन् भने दीपिका पादुकोण र जोन अब्राहमको पनि मुख्य भूमिका रहेको छ।







