काठमाडौं- निर्वाचन आयोगले चुनावी आमसभा गर्दा आचारसंहिताभित्र रहेर कार्यक्रम गर्न राजनीतिक दल र उम्मेदवारको ध्यानाकर्षण गरेको छ।
मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि कार्तिक १७ गतेदेखि राजनीतिक दलले गर्ने आमसभा, कोणसभा तथा अन्य प्रचारप्रसारका गतिविधि हरुको बारेमा यस अगाडि नै जानकारी गाराए पनि त्यस्ता कार्यक्रमहरु गर्दा पालना गर्नुपर्ने आचरणको विषयमा आयोगले पुनः ध्यानाकर्षण गरेको हो।
निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिका संयोजकसमेत रहेका आयुक्त रामप्रसाद भण्डारीले प्रचलित कानून, निर्वाचन ऐन, नियम र निर्वाचन आचारसंहिता प्रतिकुल हुनेगरी सभा, समारोह नगर्न आग्रह गरे। राजनीतिक दलहरुले अर्काको कार्यक्रम बिथोल्न लागे र अर्कालाई आरोप–प्रत्यारोप गरे कारबाहीको भागीदार हुने उनले बताए।
आमसभा गर्न लागेको जानकारी २४ घण्टा अगावै स्थानीय प्रशासनलाई दिनुपर्ने प्रावधान पनि कडाइ का साथ पालना गर्न पनि उनले सचेत गराए। ‘कुन दलको कुन ठाउँमा कसरी आमसभा गर्ने भन्ने कुरा २४ घण्टा अगावै स्थानीय प्रशासनलाई जानकारी दिने’, उनले भने, ‘स्थानीय प्रशासनलाई जानकारी दिइसकेपछि, एउटा दलले कुनै कार्यक्रम गर्ने ठाउँ हो भने अर्को दलले त्यहाँ कार्यक्रम जुधाउनु भएन।’
आयुक्त भण्डारीले व्यक्ति विशेषलाई लाञ्छना लगाउने प्रयोजनले कुनै पनि शब्द उच्चारण नगर्न आग्रह गरे। प्रचारप्रसारका क्रममा लोगो, स्टिकर लगाएको कपडा, टोपी, क्याप, ज्याकेट, कमिज, गम्छा, झोला लगायतका निर्वाचनसँग सम्बन्धित दलको चिह्न प्रयोग भएका सामग्री प्रयोग नगर्न पनि सचेत गराए। आमसभा र कोणसभाको खर्च विवरण ७ दिनभित्र पेस गर्नुपर्ने प्रावधान रहेको पनि उनले स्मरण गराए। उनले सार्वजनिक स्थलमा पार्टीको झण्डा तथा पर्चा, पम्प्लेट राख्न नहुने बताए। कार्यक्रम गर्दा १० वटा भन्दा बढी झण्डा प्रयोग गर्न नपाइने पनि उनले बताए।
निर्वाचन आयुक्त भण्डारीले सरकारी लाभको पदमा बसेर उम्मेदवार हुन र निर्वाचन प्रचारप्रसारमा सरिक हुन नपाउने भन्दै कोही त्यसरी सहभागी भएको देखे आयोगलाई सूचना दिन आग्रह गरे।







