काठमाडौं -सर्वोच्च अदालतले ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न आदेश दिएको छ । नेपाल मेडिकल काउन्सिलको सदस्य रहेकाले उनले लाभको पद लिएको र त्यस्तो व्यक्ति उम्मेदवार बन्न अयोग्य हुने भन्दै निर्वाचन आयोगले कार्कीकाे उम्मेदवारी खारेज गरेको थियो । त्यसविरुद्ध सर्वोच्च पुगेकी कार्कीको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश कुमार चुडालको इजलासले उम्मेदवारी कायम गर्न निर्वाचन आयोगलाई अन्तरिम आदेश दिएको हो ।कार्की नेपाल स्वतन्त्र पार्टीबाट ललितपुर ३ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेकी थिइन् । कुनै काउन्सिल तथा संगठित सस्थाको बैठकमा भाग लिँदा पाउने बैठक भत्ता जस्ता पारिश्रमिकहरु नियमित प्रकृतिका नहुने भएकोले नियमित आर्थिक लाभ लिएको भन्न नमिल्ने आदेशमा उल्लेख छ ।







