काठमाडौं- नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको एजेण्डासहितको घोषणा पत्र सार्वजनिक गरेको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमवार निर्वाचन घोषणा पत्र सार्वजनिक गर्दै स्थिरता, शान्ति र समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताए । अहिलेको संविधान संशोधन गरेर शासकीय स्वरूप परिमार्जन गर्ने चुनावी एजेण्डा माओवादी केन्द्रले ल्याएको छ । विगतको अनुभव र जनचाहनाका आधारमा संघीय लोकतान्त्रिक गणतन्त्रलाई प्रभावकारी बनाउनका लागि विद्यमान शासकीय स्वरूप परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको प्रचण्डले बताए ।
प्रतिबद्धता–पत्रमा भनिए
को छ, ‘संघमा ५१ प्रतिशत मतद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र राष्ट्रपतिद्वारा गठित मन्त्रीमण्डल रहने व्यवस्था गरिने छ । संसद् मूलतः विधायन क्षेत्रमा केन्द्रित हुने व्यवस्था गरिने छ ।’
प्रदेशमा पनि संघमा जस्तै प्रत्यक्ष निर्वाचित प्रदेश प्रमुख र प्रदेश प्रमुखद्वारा गठित मन्त्रीमण्डल रहने र विधायन क्षेत्रमा मात्र केन्द्रित हुने प्रदेश सभाको गठन गरिने योजनासहितको प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । त्यसैगरी, शुसाशन अभिवृद्धिका लागि उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गर्ने माओवादी केन्द्रले घोषणा पत्रमा उल्लेख गरेको छ । सुशासन र समृद्धिमा नै केन्द्रित रहन्छौँ । आर्थिक समृद्धिको लागि निरन्तरतामा क्रम भंगता ल्याउनुपर्ने छ । नयाँ सरकार बनेको ६ महिनामा नयाँ शिक्षा ऐन जारी गर्छौँ । सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्छौँ’, प्रचण्डले भने ।







