काठमाडौं – चलचित्र ‘महापुरुष’ले प्रदर्शनको पहिलो दिनदेखि आक्रामक कमाई गरीरहेको छ । काठमाडौं र मोफसलका सिंगल स्क्रिन तथा मल्टीप्लेक्समा दर्शकहरुको चाप उच्च देखिएको छ ।
पहिलो दिन एक करोडको ओपनिङ गरेको फिल्मले दोस्रो दिन डेढ करोड भन्दा मथिको कमाइ गरेको थियो। आइतवार छठको विदामा पनि राम्रो कमाइ गरेका चलचित्रले आज सोमबार बिहानै देखि हलहरुमा दर्शकको उल्लेख्य रहेको छ । फिल्मको कमाईको गति हेर्दा पहिलो हप्तामै निर्माताको लगानी सुरक्षित हुने देखिन्छ ।
नेपाली चलचित्रलाई कमाईको हिसाबमा चाडपर्वको विदा उपयोगी सिद्ध हुने गरेको छ। यस वर्ष दशैं र तिहारमा प्रदर्शन भएका फिल्मको सफलताले पनि यो प्रमाणित गर्छ । दशैंको अवसरमा दुई चलचित्र ‘प्रेमगीत ३’ र ‘दुई नम्बरी’ व्यापारिक रुपमा सफल हुँदा तिहार तथा छट पर्वको अवसरमा रिलिज भएका ‘के घर के डेरा’ र ‘महापुरुष’ बक्सअफिसमा सफल चलचित्रको श्रेणीमा परेका छन् ।
हिट फिल्ममा ह्याट्रिक गरिसकेका प्रदीप भट्टराई निर्देशित फिल्ममा मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, गौरी मल्ल, राजाराम पौडेल लगायतका कलाकारले अभिनय गरेका छन् ।







