काठमाडौं- कमेडियन अपूर्वक्षितिज सिंहलाई मंगलबार काठमाडौं जिल्ला अदालतमा पेश गरिएको छ।उनको आज बयान लिइने काठमाडौं जिल्ला अदालतका प्रवक्ता दिपक दाहालले जानकारी दिए।
न्यायाधीश माधवप्रसाद मैनालीको इजलाशमा उनको बयान लिइने उनले बताए। यस्तै आजै थुनछेक बहस समेत हुनसक्ने प्रवक्ता दाहालले बताए।
‘अहिले इजलाशले प्रतिवादीको बयान लिन्छ। त्यसपछि थुनछेक बहस हुन्छ,’ उनले भने,‘एक जनामात्रै प्रतिवादी भएकाले थुनछेक बहस पनि आजै भएर आदेश आउने सम्भावना छ।’
कमेडियन अपूर्वक्षितिज सिंहले गरेको स्ट्यान्डअप कमेडीले नेवा समुदायमाथि चोट पुगेको भन्दै चार वटा शीर्षकमा प्रहरी कार्यालयमा जाहेरी परेको थियो।
सरकारी वकिल कार्यालय स्रोतका अनुसार उनीविरूद्ध बयान र सार्वजनिक भएको भिडिओलाई नै प्रमाणको रूपमा पेश गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले उनीविरूद्धको अनुसन्धान सकेर सोमबार कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। प्रतिवेदन बुझाउँदा अपूर्वलाई पनि उपस्थित गराइएको थियो।
भदौ १२ गते पक्राउ परेका अपूर्वलाई ११ दिन हिरासतमा बसेपछि कोरोना संक्रमण देखिएको थियो। त्यसपछि प्रहरीले भदौ २३ गते उनलाई हाजिर जमानीमा छाडेको थियो।







