काठमाडौं- नेकपा एमालेका नेता बालकृष्ण ढुंगेलको मृत्यु भएको छ । काँडाघारीस्थित उनी बस्दै आएको घरको बाथरुममा चिप्लिएर उनको मृत्यु भएको काठमाडौं प्रहरी प्रमुख भरतबहादुर बोहराले जानकारी दिए ।
आफ्नै निवास काँडाघारीको ट्वाइलेटमा चिप्लिएर बेहोस भएका ढुंगेलको निधन भएको एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले पुष्टि गरे ।
तत्कालीन नेकपा माओवादीले थालेको सशस्त्र युद्धमा भाग लिएर आएका नेता ढुंगल ०६४ सालको संविधानसभा निर्वाचनमा ओखलढुंगा–२ बाट निर्वाचित भएका थिए । निर्वाचित भएकै समयमा सर्वोच्च अदालतले उज्जनकुमार श्रेष्ठको हत्यामा दोषी ठहर गरेपछि लामो समय उनले भूमिगत जीवन बिताएका थिए ।
पछि पक्राउ परेर उनले जेल जीवन विताएका थिए । जेलमुक्त भएपछि पनि माओवादी केन्द्रले उनलाई उचित स्थान नदिएकोमा उनी असन्तुष्ट थिए ।
उज्जन हत्याको आरोमा उनलाई सबैभन्दा बढी खेद्ने पार्टी एमालेले नै पार्टीमा पोलिटब्युरो सदस्य बनाएर ढुंगेललाई स्वागत गरेको थियो । ढुंगेल एमालेको बहालवाला पोलिटब्युरो सदस्य थिए ।







