काठमाडौं राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर १ बाट आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य उम्मेदवार घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार औपचारिक रुपमा घोषणा गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले आगामी निर्वाचनमा आफूले राजसंस्था पुनःस्थापना गर्ने एजेन्डालाई लिएर मतदातासँग भोट माग्ने बताएका छन् । आफ्नो मूल एजेन्डा नै राजतन्त्र भएकाे प्रष्ट्याएका हुन्।
राजसंस्थावादी, गणतन्त्रवादी र धर्मनिरपेक्षतावादी नभएको उल्लेख गर्दै उनले संविधानले बाँधेर राखेको राजसंस्थापुनःस्थापित हुनुपर्छ भन्ने मान्यतामा आफू रहेको बताए। यसरी जाँदा भोट नपाए पनि आफूले खुशीसाथ मतदातालाई धन्यवाद दिने उनको भनाई थियो।
वरिष्ठ उपाध्यक्ष मिश्रले भने, ‘म गणतन्त्रवादी होइन, राजसंस्थावादी पनि होइन। म धर्मनिरपेक्षतावादी पनि होइन। म नेपालवादी हुँ। म नेपालवादी भएकै कारणले नेपालको हित गर्नका लागि यो देशमा कुनै न कुनै रुपमा संविधानले बाँधेर राजसंस्था पुनस्थापित गर्नुपर्छ भन्ने मान्यता राख्छु।
यही कुरा लिएर म मतदाताकहाँ जान्छु, भोट पाए पाउँछु। पाइन भने खुशी साथ म धन्यवाद व्यक्त गर्छु। यसमा म प्रष्ट छु।’
वरिष्ठ उपाध्यक्ष मिश्रले १५ वर्षसम्म जनताको पक्षमा काम नगरेका प्रकाशमान सिंहलाई काठमाडौं क्षेत्र नम्बर १ का जनतालेपुनः विजयी गराउन नमिल्ने बताए। उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ का जनताले आफ्नो एजेन्डालाई हेरेर विजयी गराउने विश्वास समेत व्यक्त गरे।
निर्वाचनमा मतदाताकहाँ जाँदा आफूले ढाँटेर भोट माग्ने काम नगर्ने पटकपटक दोहोर्याउँदै वरिष्ठ उपाध्यक्ष मिश्रले गत निर्वाचनमा पनि आफूले सुकुम्बासीलाई लालपुर्जा दिन्छु भनेर फटाहा कुरा नगर्दा ८१९ मतले हार्नु परेको गुनासो गरे।







