काठमाडौं- लुम्बिनी प्रदेश सभाले निर्वाचन आचारसंहिता लागू भएपछि सम्मान र शुभकामना आदानप्रदान कार्यक्रम गर्न लागेको छ।निर्वाचन आचारसंहिता लागू हुने जानकारी पाएरै पनि दाङमा निवर्तमान प्रदेश सभाका सदस्यका लागि प्रदेश सभाले सम्मान र शुभकामना आदानप्रदान कार्यक्रम राखेको हो।आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि बुधवारदेखि निर्वाचन आचारसंहिता लागू भएको छ।
निर्वाचन आचार संहिता जारी हुने सूचना आएलगत्तै निवर्तमान सांसदलाई प्रदेशसभा सचिव दुर्लभ पुन मगरले सूचना जारी गरेका हुन् । सूचनाअनुसार प्रथम प्रदेश सभाको कार्यकाल सम्पन्न हुन गइरहेकाले असोज १४ गते दिउँसो १ बजे नयाँ प्रदेशसभा भवन मौरीघाट देउखुरीमा सम्मान र शुभकामना कार्यक्रम राखिएको छ।
मुख्यमन्त्री कुलप्रसाद केसीले आफ्नै कार्यकालमा राजधानीको संरचना स्थायीमा ल्याएको जस लिन निवर्तमान सांसदलाई सम्मान कार्यक्रम राखेको विपक्षीको आरोप छ।
‘प्रदेश सभाले आयोजना गरेको कार्यक्रममा एमाले सहभागी हुँदैन’, एमाले लुम्बिनी प्रदेशसभाका निवर्तमान प्रमुख सचेतक भूमेश्वर ढकालले भने, ‘हामीसँग छलफल पनि भएको छैन। यो सरासर गलत छ।’
उनले सूचनामै प्रदेश सभाको कार्यकाल सकिन गइरहेको भनेर उल्लेख गरेकोमा आपत्ति जनाए । प्रमुख प्रतिपक्ष दलसँग सल्लाह नै उनले नगरी कार्यक्रम राखिएको भन्दै प्रदेश सभाको कार्यक्रम गलत भएको बताए । प्रदेश सभा सचिव दुर्लभकुमार पुन मगरले प्रदेश सभाको आन्तरिक कार्यक्रम भएकाले आचारसंहिता लागू नहुने दाबी गरे।







