काठमाडौं- सरकार र अनशनरत डा. गोविन्द केसीबीच १० बुँदे सहमति भएको छ । सहमतिसँगै डा.केसीले १३ दिनदेखि गर्दै आएको अनशन तोडेका छन् । केसीले बिरामी अल्मान अन्सारीको हातबाट जुस पिएर अनशन तोडेका हुन् । सहमतिलाई अनुमोदनका लागि मन्त्रिपरिषद्मा पेस गर्ने समेत सम्झौता भएको छ ।
डा. केसीले समयसीमाभित्र माग सम्झौता कार्यान्वयन नभए फेरि अनशन बस्ने चेतावनी पनि दिए । विभिन्न ७ बुँदे माग राख्दै भदौ २७ गतेदेखि डा. केसीले धनगढीबाट २० औं सत्याग्रह सुरु गरेका थिए ।
सत्याग्रह सुरु गरेको चौथो दिनदेखि उनको स्वास्थ्यमा समस्या देखिन थालेपछि सेती प्रादेशिक अस्पतालको वार्डमा सारिएको थियो । अस्पतालले स्वास्थ्य बिग्रँदै गएपछि सुविधा सम्पन्न अस्पतालमा लैजान सुझाव दिएपछि डा. केसी अनशनकै १० औं दिनमा काठमाडौं आएर त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । गत हप्ता सरकारी र डा. केसी पक्षको वार्ता टोलीबीच चरण/चरणको छलफलपछि वार्ता निर्ष्कषमा पुगेको हो ।







