काठमाडौं- बिहीवार समाज कल्याण परिषद्ले आायोजना गरेको ४३ औं सामाजिक सेवा दिवसको अवसरमा कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री देउवाले सामाजिक सेवाको माध्यमबाट नै ठूलो रुपान्तरण ल्याउन सकिने कुरा बताउनुभयो । उहाँले सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मुल प्रवाहकरण गर्नुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान गर्न सामाजिक सेवा आवश्यक रहेको बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘‘नेपाल जस्तो विकासोन्मुख मुलुकमा सामाजिक सेवाको माध्यमबाट समाजमा ठूलो रुपान्तरण ल्याउन सकिन्छ । सामाजिक सेवाको माध्यमबाट समाजमा पछि परेका समुदायलाई विकासमा मुल प्रवाहकरण गर्नुका साथै उनीहरुको सामाजिक, आर्थिक सशक्तिकरणमा महत्त्वपूर्ण योगदान गर्न सकिनेछ । यस कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकिर्षत गर्न प्रेरित गर्नेछ भन्ने आशा लिएको छु ।’’
प्रधानमन्त्रीले यस्ता समाजेसेवामुखी कार्यक्रमले नयाँ पुस्तालाई समाजसेवामा आकिर्षत गर्न प्रेरित गर्ने विश्वास व्यक्त गर्नुभयो । प्रधानमन्त्री देउवाले सबैले आफ्नो निजी स्वार्थभन्दा माथि उठेर समाजको वृहत्तर हित, कल्याण एवम् उत्थानका लागि निःस्वार्थ भावले समर्पित हुन आवश्यक रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘‘आजको दिन हामी सबैले आफ्नो निजी स्वार्थभन्दा माथि उठेर समाजको वृहत्तर हित, कल्याण एवमु् उत्थानका लागि निःस्वार्थ भावले अझ समर्पित रही काम गर्छु भन्ने प्रतिवद्धता व्यक्त गर्नुपर्ने दिन हो । नेपालको संविधानले सामुदायिक तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय गैर सरकारी गैर संस्थाको लगानी र भुमिकालाई जवाफदेही र पारदर्शी बनाउँदै यस्ता संस्थाहरुको स्थापना स्वीकृति, सञ्चालन, नियमन, व्यवस्थापनका लागि एकद्वार प्रणाली अपनाउने आवश्यक्ता र प्राथमिकताका क्षेत्रमा यस्ता संघ, संस्थाहरुलाई संलग्न गर्ने कुरा उल्लेख गरेको छ ।’’
उहाँले गैर सरकारी संघसंस्थालाई उत्तरदायी, पारदर्शी र परिणाममुखी बनाउँदै राष्ट्रिय आवश्यकता र प्राथमिकताका क्षेत्रमा संलग्न गराउने गरी देशको नीति तथा कार्यक्रमहरु तर्जुमा गर्न आवश्यक रहेको औंल्याउनुभयो । प्रधानमन्त्री देउवाले १५ औं योजनामा उल्लेखित सामाजिक विकास सम्बन्धी उद्देश्य र दिगो विकास सम्बन्धी लक्ष्यहरु हासिल गर्नका लागि सरकार र गैर सरकारी क्षेत्रले एक आपसमा समन्वय सुरु गरी काम गर्न आवश्यक रहेको पनि उल्लेख गर्नुभयो ।







