काठमाडौं- इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले काठमाडौं उपत्यकालगायत देशभर डेंगु संक्रमण अत्यधिक विस्तार भएको निष्कर्ष निकाल्दै राष्ट्रव्यापी प्रकोप घोषणा गर्न स्वास्थ्य मन्त्रालयलाई पत्राचार गरेको छ ।
नियन्त्रणका लागि र्यापिड एक्सन प्लान बनाउन पनि ईडीसीडीले मन्त्रालयलाई आग्रह गरेको छ । ईडीसीडी महामारी हेर्ने सरकारको आधिकारिक निकाय हो ।
पछिल्ला दिनमा डेंगुको संक्रमण देशव्यापी बनेको छ । सोमबारसम्म देशभर १७ हजार ४ सय ९४ जनामा डेंगी पुष्टि भएको छ ।डेंगुले यो वर्ष २१ जनाको मृत्यु भइसकेको छ । उपत्यकाका तीन जिल्लामा मात्रै कुल संक्रमणको ५८.६७ प्रतिशत संक्रमित छन् ।
मुलुकमै सबैभन्दा बढी डेंगु संक्रमित देखिएको जिल्ला काठमाडौं भएको छ, त्यसमा पनि काठमाडौं महानगरपालिकामा सबैभन्दा बढी संक्रमण छ,’ जुलाई अघिसम्म खासै डेंगु थिएन, संक्रमणले बिस्तारै गति लिँदै सेप्टेम्बरदेखि व्यापक भएको हो ।
संक्रमण बढेसँगै अस्पतालमा बिरामीको चाप अत्यधिक बढेको छ । काठमाडौंको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा आउनेमध्ये ९० प्रतिशत डेंगुका बिरामी छन् । यस्ता बिरामीले अस्पतालका बेड भरिएका छन् । अस्पतालका संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले हरेक घरमा डेंगुका बिरामी रहेको भन्दै अझै जोखिम बढ्न सक्ने बताए । स्वास्थ्यकर्मीहरूले डेंगु नियन्त्रणका लागि अभियान नै सञ्चालन गर्नुपर्ने सुझाव दिइरहँदा सरकारले भने पर्याप्त पहल गर्न सकिरहेको छैन ।
‘यस पटक ४० वर्षमुनि पनि मृत्यु बढी देखिएको छ,यदि हामीले लामखुट्टेको प्रजनन स्थल खोजेर नष्ट गरेनौं भने यसपालि पहिलेको दाँजोमा सर्वाधिक केस र मृत्यु देखिन्छ भने दुई–तीन वर्षमा काठमाडौं उपत्यकामा यसको महामारी थेग्न नसक्ने हुन्छ ।’ यस पटक संक्रमण र मृत्युको सबै रेकर्ड तोडिने चेतावनी दिँदै आगामी डेढ महिनासम्म संक्रमण जारी रहन्छ ईडीसीडीका कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा. गोकर्ण दाहालले भने।’







