काठमाडौं –निर्वाचन आयोगले तोकेको समयसीमाभित्र सबै राजनीतिक दलहरुले राति अबेरसम्म समानुपातिक निर्वाचनका लागि उमेदवारको बन्द सूची बुझाएका छन् । समानुपातिक निर्वाचनको विकृत अभ्यास यस पटक पनि देखिएको छ । पार्टीका प्रभावशाली हैसियतमा रहेका, सत्ता र शक्तिमा हालीमुहाली गरेका व्यक्तिहरू समानुपातिक सूचीमा समेटिएको छ ।
निर्वाचन आयोगले दिएको जानकारीअनुसार राति अबेरसम्म पनि दलहरुले सूची बुझाउँदै थिए । आयोगले त्यसलाई दर्ता गर्ने काम गरेको छ ।दलहरुले अहिलेसम्म औपचारिक सूची सार्वजनिक गरेका छ्रैनन् । समानुपातिक निर्वाचन निर्देशिकामा भएको व्यवस्थाअनुसार दलहरुले सूची तयार पार्नुपर्ने हुन्छ ।
दलित, आदिवासी जनजाति, खस–आर्य, मधेसी, थारु र मुस्लिमको जनसंख्याको आधारमा उमेदवारको नाम सिफारिस गर्नुपर्छ ।त्यसका लागि प्रतिनिधिसभामा १ सय १० र प्रदेश सभाका लागि बढीमा २ सय २० जनाको सूची बुझाउनुपर्ने हुन्छ ।
३ सय ३० जनाको सूची तयार पार्दा ढिलाइ भएको दलहरुले बताएका छन् । नेकपा एमाले, कांग्रेस, माओवादी केन्द्रले पहुँचवालालाई नै समानुपातिक सूचीमा राखेका छन् ।
एमालेले उपाध्यक्ष रामबहादुर थापाकी पत्नी नैनकला थापादेखि रघुजी पन्त, गोरखबहादुर बोगटीलगायतका व्यक्तिहरुलाई सूचीमा राखेको छ ।कांग्रेसले सबैभन्दा बढी पहुँचवालालाई नै समानुपातिक व्यवस्थामा स्थान दिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवा, विमलेन्द्र निधि, प्रकाशशरण महत, फरमुल्लाह मन्सुर, गोपालमान श्रेष्ठलगायत पटक पटक पदमा र नेतृत्वमा पुगेकालाई नै स्थान दिएको छ ।
त्यसैगरी माओवादी केन्द्रले पनि पटक पटक लाभ लिएका नेता कृष्णबहादुर महरालाई नै समानुपातिकको सूचीमा राखेको छ ।उनी सभामुख भएका बेला यौन हिंसामा पक्राउ परेका व्यक्ति हुन् ।







