काठमाडौं- संगीतकार शुभ बहादुर सुनामको निधन भएको छ । काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका उनको ७४ वर्षको उमेरमा आज बिहान निधन भएको हो । उनी लामो समयदेखि मृर्गौलाको समस्याबाट पीडित थिए । समस्याबाट पीडित थिए ।
५५ वर्षदेखि सुनाम नेपाली संगीतमा सक्रिय थिए । स्याक्सोफोनमा उनको विशेष दख्खल थियो । उनले अघिल्लो पुस्ताका नारायणगोपाल, तारादेवी, प्रेमध्वज प्रधानदेखि अहिलेका नयाँ पुस्ताका गायकगायिकासँग काम गरेका थिए ।
सुनामले नेपाली सेनामा पनि लामो समय काम गरेका थिए । उनी नेपाली सेनामा सहायक रथीसम्म पुगेर जनताको सेवा गरेका थिए ।
उनी सफल संगीतकार, रचनाकार र एरेन्जर पनि हुन् । उनको संगीतमा मीरा राणाले गाएको गीत ‘फूलै फूलको मौसम तिमीलाई’ र दीप श्रेष्ठले गाएको ‘हुँ यात्री एउटा’ गीत सदावहार मानिन्छन् । नारायणगोपालको स्वर रहेको ‘तिमीले भनेका सारा देव छोएर’ उनको कालजयी संगीत हो ।
शम्भुजीत बास्कोटासँग जोडीको रूपमा उनले केही समय काम गरेका थिए । उनीहरुको जोडीलाई ‘शुभ–शम्भु’को नामले चिनिन्थ्यो । गजल गायक गुलाम अलीद्वारा गाइएका केही नेपाली गीतमा पनि उनको संगीत सुन्न सकिन्छ ।
“सयौं गीतमा उहाँको कर्णप्रीय संगीत सुन्न सकिन्छ । थुप्रै कालजयी संगीतका सर्जक हो उहाँ,” संगीतकार लक्ष्मण शेष भन्छन्, “कुनै समय यस्तो थियो उहाँ नभइ गीत रेकर्ड हुँदैन थियो ।”







