काठमाडौं- नेपाली चलचित्रकी एक समयकी लोकप्रिय अभिनेत्री तृप्ति नाडकरका छोरा हुन् धिरज नाडकर । बाल्यकालमा जब आमा चलचित्रको छायांकन गर्न मुम्बईबाट नेपाल आउँथिन् । त्यति बेला उनी आफूलाई पनि नेपाली फिल्म खेलाउनुन् भनेर आफ्नी आमासँग जिद्धी गर्थे । अहिले उनी साँच्चै नेपाली चलचित्रको नायक भएका छन् ।
उनी नेपाली चलचित्र बाबरीमा नायकका रूपमा मुख्य भूमिका निर्वाह गरेका छन् । उनले अभिनय गरेको चलचित्र बाबरी यसपालिको दसैंको अवसर पारेर १४ असोजबाट देशव्यापी रिलिज हुँदै छ । एक वर्षअघि चलचित्र बाबरीको छायांकनमा आउँदै धिरज नाडकरलाई नेपाली भाषा त्यति राम्ररी बोल्न आउँदैनथ्यो । तर, यतिबेला उनी नेपाली भाषा मिठोसँग बोल्छन् । बाल्यकालमा आफ्नी आमाले नेपाली भाषामा अरूसँग कुरा गरेको देख्दा उनलाई नेपाली भाषा निकै मन पथ्र्यो । पछि उनले आमाका थुप्रै नेपाली फिल्म हेरे । जसमध्ये आमाले अभिनय गरेको नेपाली चलचित्र सम्झना र कुशुमेरुमाल उनलाई साह्र्रै मन प¥यो । सोही कारण आमाको पथ पहिल्याउँदै उनी पनि नेपाली चलचित्रको नायक बनेका छन् ।
नाडकरले थुप्रै विज्ञापनमा मोडलको रूपमा काम गरिसकेका छन् । तथापि, उनले चलचित्रमा डेब्यु भने बाबरीबाटै गरेका छन् । हुन त उनी बलिउडबाटै डेब्यु गर्न सक्थे । तथापि, आफ्नी आमा तृप्ती नाडकरले नेपाली चलचित्रमा अभिनेत्रीका रूपमा बनाइएको उचाइलाई उनी अझ चुल्याउन चाहन्छन् । सोही कारण आपूmले नेपाली चलचित्र नै रोजेको उनले बताए ।
‘यो चलचित्रमा धिरजले आफ्नै संवादको स्वरांकन आफ्नै शैलीमा बोलेका छन्, ‘फिल्ममा मैले राम्रै नेपाली बोलेको छु र मेरो लवज दर्शकलाई केही नयाँ र रमाइलो लाग्ने छ ।’ उनले भने, अबका दिनमा नेपाली भाषा अझ राम्रोसँग सुधारेर आउँदा नेपाली चलचित्रमा प्रस्ट नेपाली बोल्नेछु ।
चलचित्र बाबरीमा धिरजको नायिकाका रूपमा अदीति बुढाथोकी छन् । मुम्बईमा बसेर मोडलिङ गर्दै गरेकी अदितीको नायक भएर काम गर्दा आफुले धेरै कुरा सिक्न पाएको पनि धिरजले बताए ।







