काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी केन्द्र आगामी निर्वाचनमा पहिलो कम्युनिष्ट पार्टी बन्ने दाबी गरेका छन् । स्थानीय तह निर्वाचनको परिणामलाई आधार बनाएर दाहालको भनाई आएको हो ।
पोष्टबहादुर बोगटीको स्मृति दिवसमा काठमाडौं केन्द्रीय कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा दाहालले पार्टी एकजुट भएर जानुपर्ने, पार्टीको निर्णयलाई सर्वोपरी राखेर अगाडि बढ्नुपर्ने बताएका हुन् । माओवादी कमजोर भएमा राष्ट्र कमजोर हुने र संविधान प्रतिगमनतिर जाने उनको भनाइ थियो । स्थानीय तहको सन्देश के हो भने जनता अहिले पनि माओवादी पार्टीको हातमा नै देशको चाबी दिन चाहन्छन्, देशको राजनीति कता लैजाने भन्ने कुराको फैसला माओवादीले गरोस् भन्ने चाहना छ जनताको, उनले भने ।
स्थानीय तह निर्वाचनमा माओवादी नेता र कार्यकर्ताहरूले जति मिहिनेत गर्नुपर्ने, जति एकतावद्ध हुनुपर्ने हो, जति जनताको बीचमा जानुपर्ने हो त्यो हुन नसकेको भन्दै दाहालले गुनासो व्यक्त गरेका थिए ।
माओवादी कमजोर भए र माओवादी र जनताको सम्बन्ध सदृढ, सुमधुर हुन नसके मुलुक फेरि राजनीतिक संकटमा जाने दाहालको भनाइ थियो ।







