काठमाडौं नेपाल प्रहरीले आगामी ४ मंसिरमा तय प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि १ लाख १५ हजार म्यादी प्रहरीका लागि भर्ना खुलाएको छ । इच्छुक नेपाली नागरिकले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म सार्वजनिक बिदाको दिन समेत दरखास्त बुझाउन सक्नेछन् । दरखास्त फाराम सबै जिल्ला प्रहरी कार्यालयमा पाइनेछ ।
म्यादी प्रहरी छनोटमा स्थानीय तह वा प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७४ वा स्थानीय तह निर्वाचन २०७९ को निर्वाचनमा म्यादी प्रहरीका रूपमा भर्ना भई सन्तोषजनक काम गरेका व्यक्तिहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालमा कार्यरत रही निवृत्तिभरण वा उपदान प्राप्त पूर्व सुरक्षाकर्मीहरू तथा पूर्व वन रक्षकहरू, सुरक्षा निकाय (नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपाल) मा विभिन्न पदमा २०७९ साल भदौ महिनासम्म भर्नाका लागि आवेदन दिई शारीरिक तन्दुरुस्ती र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भई प्रवेश पत्रको प्रतिलिपि पेश गर्ने व्यक्तिहरू र विदेशी मित्र राष्ट्रका सुरक्षा निकायहरूमा काम गरी सेवा निवृत्त नेपाली नागरिकलाई प्राथमिकता दिइने प्रहरीले जनाएको छ ।
म्यादी प्रहरी भर्नाको अन्तिम नतिजा आगामी २५ असोजमा सार्वजनिक गर्ने तयारी छ । यसरी भर्ना भएकाको कार्यावधि भने स्थानीय तह निर्वाचनमा जस्तै ४० दिनको हुने छ ।








