काठमाडौं – पूर्व राष्ट्रपति डा. रामवरण यादवले कांग्रेसमा पार्टीमा रहेर पसिना बगाउनेहरुको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढि हुने गरेकोमा चिन्ता व्यक्त गरें । बिहीवार काठमाडौंमा भएको बीपी साहित्य सम्मान एवं बीपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो चिन्ता व्यक्त गरेका हुन् ।
उनले कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरु नरहेको उल्लेख गरे । जनताको बीचमा जान पनि अंशबण्डा गरिरहेको भन्दै दुख व्यक्त गरेका छन् ।उनले बीपीका राजनीतिक चिन्तनहरु अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेताहरुलाई नभएको भन्दै टिकट किनेर पार्टीमा प्रवेश गर्ने गरेको बताए ।
पूर्वराष्ट्रपति यादवले भने, “बीपीले उहाँको बेलामा जति महाबाणीहरु बोल्नुभएको छ, त्यो महत्वपूर्ण छन् । बीपीको जेल डायरी, बीपीको आत्मवृतान्त, बीपीले बोलेका राजनीतिका बारेका विषयहरु कांग्रेसीलाई पढ्नलाई फुर्सद छैन । सोझै कांग्रेस छिर्छन् । किनकि टिकट किन्नेलाई कांग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, कांग्रेसीमा लागेकालाई फुर्सद नै छैन । पैसामा टिकट बेचिरहेको छ । सुन्नुभएको होला तपाईंहरुले समानुपातिकमा टिकट बिक्री भएको छ । वडाको टिकट बिक्री भएको छ । पालिकाको टिकट बिक्री भएको छ । अहिले विपिको आदर्शको बारेमा कुरा गर्नै छोडिसके । जनताको बीचमा जान पनि अरु पार्टीसँग मिलेर अंशबण्डा गरिरहेको छ ।
कार्यक्रममा डा. शशांक कोइरालाले आफूले धेरै डाक्टरहरुलाई अध्यापन गराएको उल्लेख गर्दै अहिले डाक्टर राम्रा तर अप्रेशन गर्न लागेको बिरामीलाई पैसा दिएपछि मात्रै अप्रेशन गर्छु भन्ने किसिमका डाक्टरहरु रहेकोमा दुःख व्यक्त गरे ।







