काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले असन क्षेत्रमा फुटपाथको व्यापार र अनधिकृत संरचना हटाउन थालेको छ । यसअघि इन्द्रचोक क्षेत्रको अव्यवस्थित पार्किङ तथा मन्दिर आसपासको व्यापार हटाइसकेको र आज मङ्गलवारदेखि फुटपाथमा राखिएका पसल र पसल राख्न बनाइएका अनधिकृत संरचना हटाउन थालेको काठमाण्डौ महानगरपालिकाले जनाएको छ ।
साँघुरो गल्ली, मान्छेको भिडका कारण असनमा डोजर लैजान नसकेपछि महानगरका कर्मचारीले हाते औजारहरू प्रयोग गरेर संरचना भत्काएका छन् । आज केही पसल र संरचना हटाएको महानगरले भोलि बुधवारसम्म सबै पसल र संरचना हटाउन भनेको छ । असनका साँघुरा गल्लीमा सडकमै पसल थापेपछि मानिसहरूलाई आवतजावत गर्न समस्या भइरहेको थियो ।
यसअघि काठमाण्डाै महानगरले हिजाे मङ्गलवार गोङ्गबुमा रहेकाे नयाँ बसपार्क क्षेत्र वरपर निर्माण गरिएका अवैध संरचना हटाएकाे थियाे ।







