काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीबाट पुनर्विचारका लागि संसद्मा फिर्ता भएको नागरिकता विधेयक राष्ट्रिय सभा र प्रतिनिधि सभाबाट पुरानै अवस्थामा पारित गरि सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणित गरेर प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएका छन् ।
राष्ट्रपति भण्डारीले साउन २९ गते सन्देशसहित विधेयकमा पुनर्विचार गर्न आवश्यक रहेको निष्कर्षसहित संसद्मा फिर्ता पठाएकी थिइन् । प्रतिनिधिसभाले भदौ २ गते संवैधानिक अधिकारको प्रयोग गरेर विधेयकमा कुनै परिवर्तन नगरेर पुरानै अवस्थामा पारित गरेको थियो । मत विभाजनबाट पारित भएको विधेयकको पक्षमा १३५ र विपक्षमा ६० मत परेको थियो ।
त्यसपछि विधेयक राष्ट्रियसभामा पठाइएको थियो । राष्ट्रियसभाले भने विधेयकलाई विधायन व्यवस्थापन समितिमा छलफलका लागि पठाएको थियो । तर, भदौ १५ मा विधायन समितिबाट पनि हुबहु पारित भएर आएको विधेयक भदौ १६ मा राष्ट्रियसभाबाट पारित भएको हो ।अब भने राष्ट्रपतिले विधेयक प्रमाणीकरण गर्नैपर्ने हुन्छ । दोस्रोपटक संघीय संसद्का दुवै सदनले विधेयक पारित गरेर पठाएकाले अब राष्ट्रपतिले अनिवार्य विधेयक पारित गर्नैपर्छ ।
नेपालको संविधानको ११३ को उपधारा (४) अनुसार संसद्ले संशोधन नगरेर पनि नागरिकता विधेयक फेरि राष्ट्रपतिसमक्ष पेस गर्न सक्छ । तर, दुवै सदनबाट विधेयक फेरि पारित हुन भने आवश्यक हुन्छ । त्यसरी पठाएको विधेयक राष्ट्रपतिले फेरि फिर्ता गर्न सक्ने सुविधा संविधानले दिएको छैन ।
संवैधानिक व्यवस्था अनुसार नागरिकता विधेयक दुवै सदनले संशोधन गरेर वा नगरेर फेरि पेस गरेमा राष्ट्रपतिले १५ दिनभित्र प्रमाणीकरण गर्नुपर्ने हुन्छ ।







