काठमाडौं – गठबन्धनको शीर्ष नेताहरुको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ। आगामी चुनावका लागि तालमेलको मोडालिटी बनाउन बैठक बस्न लागेको हो।
गठबन्धनमा सिट बाँडफाँडको गाँठो सल्टाउने दाबी सहित बैठक बस्ने तयारी भइरहँदा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।
कांग्रेस नेता कृष्ण सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलले सहमति जुटाउन नसकेपछि शीर्ष तहमै छलफल भएको हो। कार्यदलमा पाँच दलले आ–आफ्नै दाबी पेश गरेका छन्। १६५ निर्वाचन क्षेत्रमा २ सय ३१ क्षेत्रका लागि आ-आफ्नै दाबी परेको छ।
कांग्रेसले १०० सिटमा दाबी गर्दा माओवादीले ६० सिट नछाड्ने अडान लिएको छ। त्यस्तै एकीकृत समाजवादीले उभ्रेको सिट नलिने भन्दै ४० सिट दाबी गर्दै आएको छ। यस्तै जनता समाजवादीले ३२ तथा राष्ट्रिय जनमोर्चाले दुईसिटमा दाबी गरेको छ।
जनमोर्चाले बागलुङबाट चित्रबहादुर केसी र प्युठानबाट दुर्गा पौडेललाई सिफारिस गरिसकेको छ। देउवा र प्रचण्डको निर्देशनपछि कार्यदलले सहमतिको खाका तयार गर्ने बुझिएको छ।







