काठमाडौं सत्ता गठबन्धनको सिट बाँडफाँटका लागि गठित कार्यदलको बैठक सुरु भएको छ। बुधबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिपछि अहिले निर्णायक छलफलका लागि बैठक बसेको हो।
नेताहरूले आ-आफ्नो दाबी नछाडेपछि कार्यदलको बैठक पटक-पटक निष्कर्षविहीन बन्दै आएको छ।
नेपाली कांग्रेसले १०० सिटमा दाबी गरिरहेको छ। माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरिरहेको छ।
कांग्रेस नेताहरूले सार्वजनिक रूपमै १०० सिटबाट तल नझर्ने अभिव्यक्ति दिइरहेका छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले पनि सबै सिट आफू राखेर ‘उब्रिएको सिट’ दिए स्वीकार्य नहुने चेतावनी दिइसकेका छन्।
गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि सार्वजनिक कार्यक्रममै आफूहरूले प्रतिनिधिसभामा ६० सिट र प्रदेशसभामा १२० सिट दाबी गर्ने बताएका थिए।







